THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man

Monday, May 25, 2020

लकडाउनको अब १० दिनः एक मिटर सामाजिक दुरीका लागि

(Original article published on Setopati.com on April 29, 2020)

फुर्बा साङ्गे मोक्तान
कुरा सुरु गरौँ आफ्नै अनुभवबाट। कुरा हिजोको मात्रै हो। बसाई मेरो जोरपाटी, काठमाडौं।

म घर नजिकैको किराना पसलमा सामान किन्न गएको थिएँ। सामान लिदै नै थिएँ। पछाडिबाट ठोक्किएला झैँ गरी एक जना दाइ उभिनुभयो। मैले विनम्र भएर एक मिटरको दुरी राखम ल भनेको, दाजु 'ए है!' भन्दै पछि हटे।

फेरि एकैछिन पछिको कुरो हो। म त्यही पसलमा सामान लिदै थिए। एक जना बुढी आमै हातमा सेतो पिठो जस्तो केही र जल लिएर वरपरकालाई पर्सादी भनेर बाड्न लाग्नु भयो।

मैले उहाँलाई 'अनि आमै हातैले प्रसाद बाढ्दै हिड्न ठिक होला त? समय काल यस्तो रोगमय छ' भनेको उहाँले 'भगवानले हेर्छन' भन्नुभयो।

'अब भगवानले पनि त आफैँले मिहेनत गरेसी मात्र त हो हेर्ने।'

मेरो कुरा साहुनी दिदीलाई घत परेछ। आमैलाई कुन्नी?

अचेल मेरो टोलको एक कुनामा दैनिक भतेर जस्तो केही पाक्छ। मेरो घरबाट देखिन्छ त्यो दृश्य। दैनिकै करिब २५–३० कम उमेरका जवान वृद्ध देख्छु म त्यहाँ।

तर प्रायः खाना बनाउने केही बाहेक सबै गफै चुट्दै हुन्छन्, थुकै उछिट्टिने गरी। उद्देश्य गरिब-दुःखीलाई कोरोना कहरका बीच खाना खुवाउने हो रे। त्यो त राम्रो तर बीस तिरबाट भेला भएका तीस थरी मानिसहरु पसिना नै टाँसिने र थुकै मुखमा उछिट्टिने गरी जम्मा हुन आवश्यक नै हो त यो समयमा?


आजको कुरा नि सुन्नुहोस्। मेरा मावलातिरका एक दाइको परिवार (पैसाको समस्या छैन उनीलाई) आजै राति पालिकाले गाडी रिजर्भ गरेर लैजाने रे भनेर घर (पर्सा जिल्ला) हिँड्न ठिक्क परेछन्।

मैले सोधे, 'अनि यस्तो रोगको बीचमा बच्चा सबै बोकेर जान किन आवश्यक?'

भाउजुलाई बस्दा-बस्दा दिक्क लाग्यो रे, अनि त्यहीबेला पलिकाले गाडी व्यवस्था गर्या छ भन्ने जानकारी पाएर (उनकै अनुसार) जान लाग्या रे। गाडीमा जाँदा-आउँदा कोचाकोच छ अचेल, सामाजिक दुरी त त्यत्तिकै हो।

गाडीमा बसेका मध्ये एकमा केहिगरी कोरोनाको संक्रमण भए के होला अवस्था? विकल्प विहीनहरु बहेककालाई हैन यो उपाय भनि किन नबुझेका? हैट्, हामी नेपालीको सुद्धी ?

माथिका प्रसंगहरु जोड्नुको कारण मैले हामी नेपालीमाझ देखेको एउटा सामान्य देखिने तर असामान्य परिणाम ल्याउन सक्ने सामाजिक (स्वच्छ) दुरीको अवमूल्यन भएर हो।

विश्वासनिय अमेरिकी प्रोफेसर डा. एन्थोनी फौसीले भनेका छन् कि 'सामाजिक दुरी भनेको मानिसहरुबीचको भीडमा साच्चिकैको भौतिक दुरी हो, जहाँ तपाईंले धेरै नजिकको सम्पर्कबाट आफूलाई हटाउनु हुनेछ।'

तर के उनले भनेजस्तै सम्भव छ त? पक्कै छ। म पनि एक उदाहरण हुँ।

महिना अघि लकडाउन सुरु हुने ताकाभन्दा अहिले मानिसहरु काठमाडौं छोड्न खोज्ने क्रम पनि बढेको देखिएको छ। यसमा मैले दुई पाटा देखेँ। एकाथरी, जीविकाका लागि कुनै उपाय नभएर पछि जीवन बचाउन पनि राति-राति हिँडेर वा गाडीमा जोखिमपूर्ण यात्रा गर्दैछन्।

धेरै सञ्चार माध्यमहरुले उनीहरुको कारुणिक कथा देखाई–सुनाई रहँदा धेरैपल्ट यो पङ्तिकार पनि भावुक भएको दृष्टान्त छ। अर्काथरी भने, रोग र गाँस-बाँसबाट सुरक्षित भए पनि रहरमै आफन्ती छिमेकीले गाउँको रमाइलो, दसैँ जत्तिकै छ। भनेपछी मोहित भएर रोगसँगको जोखिम मोलेरै भए नि जाने जमात छन्।

यो आलेख तयार पर्दासम्म नेपालमा ५२ जना व्यक्तिहरुमा संक्रमण पुष्टि भईसकेको अवस्था छ भने कसैले पनि ज्यान गुमाउनु परेको छैन। सरकारको आधिकारिक जानकारी (सिट्रेप३३७८) अनुसार ४३०६३ जनाको द्रुत परिक्षण र १०६२० जनाको पिसिआर प्रविधिबाट परीक्षण भईसकेको छ।

परीक्षणको तीव्रता पछिल्लो केही समयमा उल्लेखनीय बृद्धि भएको देखिएसँगै नयाँ संक्रमितहरुको पनि पुष्टि हुँदै गईरहेको छ। पछिल्ला दिनमा पत्ता लागेको काठमाडौँस्थित सनसिटी कोलोनीमा पुष्टि भएका सन्क्रमितहरुको संक्रमणको तथ्य हेर्दा कम्तिमा एक महिना जतिको देखिन्छ।

यतिमात्र हैन, उनिहरुमध्ये दुई जनामा संक्रमण भए पनि रोगका लक्षणहरु भने देखिएन। यसबाट हामी के कुरा अनुमान लगाउन सक्दछौँ भने संक्रमणहरु भएका छन्, तर पुष्टि हुन ढिलो भईरहेको छ। उनीहरु जस्तै अन्यमा पनि संक्रमण हुन सक्दछ।

जस्तो कि हामीलाई सबैलाई थाहा छ, यो लेख लेखिदासम्म न त यस रोगको कुनै औषधि पत्ता लाग्न सकेको छ, न त कुनै प्रतिरोधात्मक भ्याक्सिन नै। यस्तो परिस्थितिमा हामीसग मूलतः दुई विकल्पहरु छन्।

एक, रोग लाग्न दिने अनि रोगसँग लड्ने कि विजय प्राप्त गर्ने कि मृत्यु स्वीकार गर्ने। कोभिड–१९ को सवालमा प्रति १०० मा ५ जनाले मृत्यु स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ। र साथै, उस्तै परे यो लडाईं अनगिन्ती पल्ट लड्नु पर्ने हुनसक्छ। यो हार्ने लडाईं हो।

दोस्रो, कोभिड–१९ लाग्नै नदिने। यो जित्ने लडाईं हो। तर कसरी? यदि तपाईंले कोरोना भाईरस रोग–१९ लाई सही ढंगबाट बुझ्नु भएको छ भने तपाईंले यो पत्ता लगाउन गाह्रो पर्ने छैन कि यो जनस्वास्थ्यसँग सम्बन्धित रोग हो, जुन श्वासप्रश्वास र भौतिक सम्पर्कबाट सर्ने गर्दछ। तपाईं/हाम्रो आनीबानी नै यो रोगको लागि सूचक हो।

यी हरफहरु लेखिरहँदा लकडाउन (बन्दाबन्दी)को पनि मासिकी पुगेर थप ५ दिन बितिसकेको र थप १० दिन थपिएको छ। कुरा स्पष्ट छ कि मानिसहरु अब जीविकाका लागि अत्तालिन थालिसकेको अवस्था छ। रोगले भन्दा पनि भोकले पिरल्नेको जमात पनि आधाउधी नै छ हाम्रो नेपालमा। झन् सहरी गरिब, श्रमिक, मजदुर, डेरावाल एवम् विद्यार्थीहरुको लागि त लकडाउन बढ्दै जाँदा त ब्रेकडाउन नै हुनसक्ने अवस्था पनि चाडै आउन नसक्ला भन्न सकिन्न।

तर यसका लागि, सरकारी तहबाट नै व्यापक रुपमा एक मिटरको स्वच्छ (सुरक्षित) दुरी कायम गर्नका लागि अधिकतम पहल गर्नुपर्ने देखिन्छ। व्यक्ति-व्यक्तिबाट कार्यान्वयन गर्नु त छदैछ। जब राज्यस्तरबाट नीतिको कडा नियमन हुन्छ, तब राज्यका हरेक नागरिकले पालना गर्नतिर उन्मुख हुन्छन्।

सुन्दा अलिक बलजफ्ती सुनिएला, तर यो बेला साच्चै असल नियतलाई अस्वाभाविक मान्नुपर्ने जस्तो यो पङ्तिकारलाई लाग्दैन।

अन्त्यमा, लकडाउन केवल एक विकल्प मात्र भएको र वैशाख २५ पछि फेरि यही किसिमले लम्ब्याउनुको खास विशेष महत्व नभएकोले विशेष परिस्थितिका लागि विशेष प्रयोजन अनुरुप २५-५ गतेसम्म  ७५ र १०० प्रतिशत लकडाउन वा यस्तै केही उपायहरुमार्फत ‘सर्प पनि मर्ने र लौरी पनि नभाच्चिने’ तरिका अवलम्बन गर्नुपर्ने देखिन्छ।

यस्तो अवस्थामा कम्तिमा एक मिटरको दुरीले स्वच्छ दुरीको रुपमा अचुक काम गर्ने देखिन्छ, र कोभिड– १९ नियन्त्रणमा अमृतवाणीको पनि काम गर्न सक्नेछ। त्यसैले, यी १० दिनलाई कम्तीमा एक मिटरको सामाजिक (स्वच्छ) दुरी प्रभावकारी बनाउन आवश्यक तयारी गर्ने समयको रुपमा प्रयोग गर्न राज्य, समुदाय सबैबाट अत्यावश्यक छ।

नत्र फेरि 'हगिसकेपछि दैलो देख्ने' हाम्रो नेपाली सामाजिक प्रवृत्तिका बनेको उखान चरितार्थ हुन बेर लाग्ने छैन।

(लेखक जनस्वास्थ्य स्वच्छता विज्ञ हुन्।)

[FOR MORE...]

No comments:

Post a Comment